नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । गत बुधवार देखी सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रीय सदस्यले आ आफ्नो धारणा राखिसकेका छन् । आज बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने तयारी छ ।
पाँच दिनका लागि तय भएको केन्द्रीय कमिटीको आज अन्तिम दिन हो । तर, केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम भने सकिएको छैन ।
शनिबारको बैठकमा जर्नादन शर्मा, वर्षमान पुनलगायतका नेताले धारणा राखेका थिए । मङ्सिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।
बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।