भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डनजिकै बिहीबार राति ठूलो वर्षासँगै खसेको पहिरोमा परी १७ जना नेपालीसहित १९ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत सात जना, हुम्लाका १० र दुई जना भारतीय नागरिक रहेका छन् । केदारनाथ प्रवेश गर्ने मुख्य विन्दुमा पर्ने गौरीकुण्डमा पहिरोले नेपालीले सञ्चालन गर्दै आएका तीन होटल बगाएको छ ।
उत्तराखण्ड राज्यको गौरीकुण्डमा होटल सञ्चालन गर्दै आएका हुम्लाका वीरबहादुर होटलमा खाना खान लागेका बेला पहिरोले होटल नै बगाएको थियो । पहिरोमा होटल सञ्चालक वीरबहादुरसहित उनकी पत्नी सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएका छन् । पहिरोले बगाएको होटलमा खाना खान गएका धर्मराज बुढा र उनका छोरा मानबहादुर बुढा, अमर बोहरा, पृथ्वी, जटिल र वकिल, पत्नी अनिता, छोरीद्वय राधिका र पिङ्की पनि बेपत्ता भएको जनाइएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद अधिकारीले पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको सूचना पाउनेबित्तिकै खोज तथा उद्धारका लागि भारत सरकार र त्यहाँको स्थानीय निकायसँग निरन्तर पहल भइरहेको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पहिरोमा परेर बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि उत्तराखण्डको गौरीकुण्डको स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा रही अधिकतम पहल गरिरहेको गृह प्रवक्ता भट्टराईले जानकारी दिए ।
यसै गरी घटनाको सूचनापछि खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयमार्फत भारतीय सरकारसमक्ष लिखित पत्राचारसमेत भइसकेको छ । भारतीय सञ्चार माध्यमले खोज तथा उद्धारमा उत्तराखण्ड प्रहरी परिचालन भएको र निरन्तरको वर्षाका कारण थप समस्या उत्पन्न भएको जनाएका छन् ।