दैलेख पहिरो अपडेट : ३ वर्षका बालक मृत भेटिए, बुवाआमासहित ३ जना बेपत्ता

दैलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ भने उनका बुवाआमासहित तीन जना बेपत्ता भएका छन् ।

दैलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ७ टोपाटारमा बिहीबार साँझ पहिराले कृष्ण बहादुर मगरको घर बगाएको हो ।

गाउँपालिकाका प्रशासन प्रमुख तथा सूचना अधिकारी नवीन बस्नेतका अनुसार पहिरोमा परी कृष्णबहादुरसँगै उनकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ बेपत्ता भएका हुन् । कृष्ण बहादुरको ३ वर्षका छोरा प्रिन्स मगर भने मृत भेटिएका छन् ।

बिहीबार राति परेको भीषण वर्षाले गौरीशंकर ७र ८ मा ३२ भन्दा बढी घरमा क्षति गरेको छ । टोपाटारबाट ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

पहिरोले विद्युत्‌का पोलहरू बगाएको छ । यस्तै, ग्रामीण सडक अवरुद्ध पारेको छ । टोपाटार पारी गौरीशंकर गाउँपालिका– ८ खारेको सल्लेमा २ घर पहिरोले पुरेको छ भने २० भन्दा बढी घर पहिरोको जोखिममा भएपछि स्थानीयले घर छोडेका छन् । केही चौपाया पहिरोमा पुरिएको गौरीशंकर–८ का वडा अध्यक्ष दावा शेर्पाले बताए ।

सल्ले पुग्ने घट्टेखोलाको झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुर्‍याएका कारण उद्धारमा कठिनाइ भएको छ । उद्धार लागि सुरक्षाकर्मी वैकल्पिक बाटो भएर पहिरो गएका क्षेत्रमा गएपनि पुग्न भने सकेका छैनन् । हाल स्थानीयले उद्धार कार्य गरिरहेका छन् । टेलिफोन सम्पर्क टुट्दा जोखिममा रहेकाको उद्धारमा कठिनाइ भएको स्थानीयले बताएका छन् ।

दोलखा गौरीशंकरमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता, ३ घाइते

सम्बन्धित समाचार