आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंसिक प्रभावका कारण वर्षा हुने महाशाखाले जनाएको छ ।
त्यस्तै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । उक्त रेखाको पूर्वी भाग केही दिनमा सरदर स्थान भन्दा उत्तर तर्फ सर्ने क्रममा रहेको छ ।
अहिले देशभर आंशिक देखि सामान्य बदली रही कोशी ,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको पनि सम्भावना छ भने लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।