वीरगञ्ज भन्सारको अनुगमन गर्दै अर्थमन्त्रीले भने – कर्मचारी इमान्दार भए राजस्वको लक्ष्य पूरा हुन्छ

अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुख्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले यस्तो बताएका हुन् । ‘‘भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनुभयो, सबै इमान्दार बनियो भने हामी सजिलै लक्ष्यमा पुग्न सक्छौँ’’, मन्त्री महतले भने ।

मन्त्री महतले आयत भएन, माग आएन भने भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको बताए । त्यसमा राजश्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए । बजारमा प्रशस्त माल वस्तु भए पनि राजश्व घटिरहेको भन्दै मन्त्री महतले भने, ‘‘त्यो अवस्थामा तपाईंहरुलाई प्रश्न गर्नेछन् । हामीले यथेष्ट काम गरेनौँ, हामी जिम्मेवार भएनौँ, हामीले आँखा चिम्ल्यौँ अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्त्व दिएऔं भने राजस्व कम उठ्छ ।’’

झन्झटिलो प्रक्रियाले व्यवसायीले जोखिम मोलेर अर्को बाटो रोज्ने गरेको उनको भनाइ छ । ‘‘हामी अनावश्यक झन्झट दिन्छौँ, जायज कुरालाई पनि यो भएन भन्छौँ, अरू खाले माग गरिराख्यौँ भने यो झन्झट व्यहोर्नुभन्दा व्यवसायीले जोखिम मोलेरै भए पनि अर्को बाटो रोज्छौँ’’, मन्त्री महतले भने, ‘‘त्यो अवस्थामा प्रहरी प्रशासनको भूमिका रहन्छ।’’

राजस्व सङ्कलनमा भन्सार र सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण हुने उनले बताए । ‘‘जायज कुरालाई नाजायज बनाउने थालियो, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चित रूपमा व्यवसायीले अर्को बाटो रोज्छन्’’, उनले भने, ‘‘राजश्व सङ्कलनमा भन्सार र सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका हुन्छ । भन्सार नाकाभन्दा बाहिरबाट माल वस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ । प्रविधिको अपग्रेट हुनुपर्छ । सुख्खा बन्दरगाहमा ठुलो मेसिन आयो, त्यो उपयोगमै आएन । किन आएन कसैलाई थाहा छैन, अरूले सहयोग नै गर्न चाहेनन् । यो प्रयोगमा आयो भने निजीलाई फाइदा पुग्दैन भन्ने सुनियो । प्रविधि भनेको कामलाई सहजीकरण गर्ने हो, जाँचपास विधिलाई सहज बनाउने हो । त्यसलाई ग्रहण गर्नुपर्छ, त्यसलाई अपग्रेट गर्न रिर्सोसको कमी हुँदैन, तर तपाईँहरूले सहयोग गर्नुपर्छ ।’’

सम्बन्धित समाचार