विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता पाण्डे थुनामुक्त
हिरासतमा राख्न अदालतले दिएन अनुमति
विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ छुटेकी छन् ।
जिल्ला अदालत काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको प्रहरीले स्रोतले बतायो ।
प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत काठमाडौं लगेको थियो । तर पाण्डेले प्रमाण लोप गर्ने सम्भावना नभएको भन्दै म्याद थप गर्न अदालतले अस्वीकार गर्यो ।
प्रहरी स्रोतका अनुसार अदालतले टेलिभिजनमा बोलेको कुरा प्रमाणका रूपमा रहेकोले थुनामा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै म्याद थप नगरेको हो । बुधबार पक्राउ गरेर प्रहरीले अधिवक्ता पाण्डेलाई बुधबारै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
काठमाडौंका डीएसपी अनिल अधिकारीका अनुसार अधिवक्ता पाण्डेले आफ्नो विवादित अभिव्यक्तिका विषयमा सार्वजनिक रूपमा माफी मागिसकेको तथा प्रमाण नष्ट गर्ने अवस्था नभएको भन्दै अदालतले हिरासतमा राख्न अनुमति नदिएको हो। सोही कारण उनलाई हिजै छाडिएको हो ।