म्याग्दीको पश्चिमी क्षेत्रमा २ सय ३८ दशमलव २३ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणको चरणमा प्रवेश गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न प्रसारण लाइन र सबस्टेसन बनाउन थालेपछि जलविद्युत् आयोजना धमाधम निर्माण हुन थालेका हुन् ।
प्राधिकरणले मालिका गाउँपालिका-७ मा १ सय ३२ केभी क्षमताको सबस्टेसन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्याएको छ । डाँडाखेत सबस्टेसन र प्रसारण लाइन निर्माण हुन थालेपछि अनुमति लिएर बसेका प्रवर्द्धक सक्रिय भएका हुन् ।
सन् २०२४ भित्र डाँडाखेत सबस्टेसन र प्रसारण लाइन निर्माण गर्ने तयारीसहित काम थालिएको डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए ।
जलविद्युत् आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रिखोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडक मार्ग खोलेका छन् । शिवरात्रिखोलाको पहरामा अड्किएको सडक निर्माणको काम धवलागिरि गाउँपालिकाले बजेट विनियोजन गरेर सफल बनाएको थियो ।
शिवरात्रि खोलामामार्ग खोलेपछि त्यसअघि सडक निर्माण भएको हो। विभागका अनुसार हाइड्रो इम्पायर प्रालि काठमाडौंले धवलागिरि-४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ ।
आयोजनाका अध्यक्ष जीतबहादुर घर्तीले पहुँचमार्ग निर्माण सकेर सुरुङ, विद्युतगृह निर्माणको काम थालिएको बताए । सिन्कोस र म्याग्दीखोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दीखोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ ।
धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट तीन आयोजनाले निर्माणको अनुमति पाएका छन्। ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४ दशमलव ७० मेगावाट क्षमताको मुदीखोला र ५७ दशमलव ३० मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् ।
म्याग्दी खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक हाइड्रो भिलेज प्रालि र ऊर्जा डेभलपर्सबीच गत वर्ष लगानी सम्झौता भएको थियो । अपर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाएको छ ।
धवलागिरि-४ मा दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको २३ दशमलव ७० मेगावाट क्षमताको म्याग्दी खोला ‘ए’ र धवलागिरि-१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् ।
एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले धवलागिरि-४ मा १४ दशमलव ७० मेगावाट क्षमताको मुदी खोला निर्माणको अनुमति पाएको छ । सुशमित हाइड्रोपावर लिमिटेडले धवलागिरिमा २० मेगावाट क्षमताको कुनबानखोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति मागेको छ ।
दरखोला हाइड्रोपावर लिमिटेडले छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला साना जलविद्युत् आयोजना, सिम्कोश हाइड्रोपावर लिमिटेडले धवलागिरि-४ मा तीन दशमलव ४५ मेगावाट क्षमताको सिम्कोश जलविद्युत् आयोजना, फ्रेस वाटर इनर्जी नेपालले धवलागिरि-४ मुदीमा १२ दशमलव ७३ मेगावाट क्षमताको अपर मुदी र सुशमित इनर्जीले धवलागिरि-४ मुदीमा ९ दशमलव ५ मेगावाट क्षमताको म्याग्दीखोला ‘बी’जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका छन् ।
प्रकाश जोशीले धवलागिरि गाउँपालिकाको मुदीमा ४ दशमलव ६ मेगावाट क्षमताको तिरिजाखोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका छन् । जलविद्युत् आयोजना भित्रिएसँगै सडकलगायत भौतिक पूर्वाधार निर्माणले गति लिने, आयोजनाले बनाएका पूर्वाधारबाट सर्वसाधारणलाई सुविधा पुग्ने, रोजगारी र लगानीको अवसर पाउनुका साथै दीर्घकालीन हिसाबले गाउँपालिकालाई विद्युत् रोयल्टी आम्दानी हुने मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।