नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा सरकारप्रति आशा बढेको बताएका छन् । बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरू केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘सरकारका कारण जनतामा आशा पलाएको छ । भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ ।’
उनले मुलुकको जटिल राजनीतिक परिस्थितिमा पनि आफू नेतृत्वको सरकारले गरेका काम कारबाही र गतिविधिहरूबाट जनतामा आशा जगाउने काम गरेको बताए । ‘हामी देशको राजनीतिक परिस्थितिको विशिष्ट सन्दर्भमा छौँ । अहिले देशको राजनीतकि जुन विन्दुमा छ, र जनताले हाम्रो पार्टी र आन्दोलनबाट जे जस्ता आशा र अपेक्षाहरू राखेका छन्, त्यसलाई हाम्रो पार्टीको नेतृत्वको सरकारले व्यवहारमा लागू गर्ने प्रयास गरिरहेको छ,’ पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘पछिल्लो समय हाम्रो पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि सरकारका कामकारबाहीबाट जनतामा नयाँ आशा पलाएको छ । जनतामा सरकारप्रतिको भरोसा र विश्वास बढेको छ ।’
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बसिरहेको बैठकमा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी, सदस्य र प्रदेशका पदाधिकारीहरुसमेत सहभागी छन् ।