सामाखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थित गर्न सांसद पौडेलको माग

नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं। ५ का सांसद प्रदीप पौडेलले सामखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको मंगलबारको बैठकमा बोल्दै उनले बाढीले वर्षेनी सामाखुसी क्षेत्रमा मानवीय क्षति हुने गरेकोले तत्काल ढल निर्माण गरिनुपर्ने बताए ।

चक्रपथ विस्तारका क्रममा भइरहेको काम वर्खा लागेपछि रोकिँदा सामाखुसी क्षेत्रमा डुबानजस्ता समस्या देखिने गरेका छन् । ‘सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्नुपर्‍यो,’ उनले भने, ‘बाटो नै खोलाजस्तै भएको छ । यहाँ १३ वर्षका साजन मगर बाटो हिँड्दाहिँड्दै साउन ७ गते बेपत्ता भएका थिए ।’

ढलको उचित व्यवस्थापन गरेर विष्णुमतिमा पानी पुर्‍याए सामाखुशी खोलामा जाने करिब ४० प्रतिशत पानी व्यवस्थापन हुने र त्यसले सो क्षेत्रलाई डुबानबाट बचाउन सकिने उनको भनाइ थियो ।

जेठ मसान्तअघि सो क्षेत्रमा ढल व्यवस्थापन गरि पानी विष्णुमतिमा पुर्‍याउने काम भइरहे पनि असार पछि रोकिँदा समस्या आउने भन्दै आफूले ध्यानाकर्षण गराएको भए पनि त्यसतर्फ ध्यान नपुगेको उनले गुनासो गरे ।

सम्बन्धित समाचार