नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखलाई राजीनामा गराएर सत्तामा जान खोजेर कांग्रेसले अमर्यादित खेल खेलेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै कार्कीले कांग्रेस सत्तामा कसरी पुग्ने भन्ने खेलमा मात्रै लागेको आरोप लगाए ।
सभामुखले राजीनामा दिए उपसभामुखको पनि राजीनामा गराउनुहुन्छ ? भन्ने प्रश्नमा नेता कार्कीले एमालेले उपसभामुखलाई राजीनामा गराएर कांग्रेसजस्तो अमर्यादित खेल नखेल्ने बताए । अहिलेको गठबन्धनले गरेजस्तो गलत खेलमा लागेर उपसभामुखको राजीनामा नगराउने उनको भनाइ छ ।
राजनीतिक सङ्कटबाट बाहिर निस्कन कांग्रेस र एमाले मिल्नुपर्ने भए पनि तत्काल सम्भावना आफूले नदेखेको उनले बताए ।
‘अहिलेको राजनीतिक संकट र राजनीतिक अस्थीरतालाई हल गर्न कांग्रेस एमाले एक ठाउँमा हुनुपर्छ भन्ने मान्यता मेरो हो,’ उनले भने,‘ कांग्रेस त्यो बाटो मै छैन, कांग्रेस असंसदीय मान्यता, असंवैधानिक काम, कानुनको सर्वोच्चतालाई कुल्चिने काममा छ, हिजो सभामुखलाई जवरजस्ती सही गरायो, आज सभामुखलाई राजीनामा गराएर अमर्यादित काम गरेर सत्ता प्राप्त गर्न खोज्दैछ ।’