सप्तरीमा ट्यांकरको ठक्करबाट दुई बालिकाको मृत्यु, ३ जना घाइते

द्रूत गतिको एक ट्यांकरले आज सप्तरीको पूर्व–पश्चिम राजमार्गस्थित सडकमा दुई किलोमिटरको दूरीमा दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित सितापुरमा भएको दुर्घटनामा रुपनी गाउँपालिका–३ कटैयाकी विष्णुदेव प्रमाणीकी छोरी ८ वर्षीया यसोदाकुमारी प्रमाणीको र चाँदनी चोकमा भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका–६ घोघनपुरका मो. अरन्जैबकी छोरी ७ वर्षीया सुमैया प्रविणको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ७ ख ५४९५ नम्बरको ट्यांकरले सितापुर चाँदनी चोकमा स११प २५८५ नम्बरको मोटरसाइकललाई र वीरेन्द्र बजारमा स२प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको स्थानीयवासीले बताए । दुर्घटनामा यसोदाकी आमा ३२ वर्षीया सुमनदेवी र मामा कुसुमलाल मण्डल र सुमैयाकी परिवारकी सदस्य नविया प्रविण घाइते भएका छन् ।

घाइतेहरूको कञ्चनरूप नगरपालिकाको ठेलियास्थित अस्पतलामा उपचार भइरहेको छ । मृतक परिवारलाई क्षतिपूर्ति र मनोमानी ढङ्गले सवारी साधन चलाउनेलाई कारवाहीको माग गर्दै स्थानीयवासीले सडकमै शव राखेर राजमार्गमा प्रदर्शन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार