कोशीको कामचलाउ मुख्यमन्त्री हिक्मतलाई तोक्न एमालेको माग

प्रदेश प्रमुखको जवाफ: सर्वोच्चले पूर्णपाठ ल्याएपछि सोचौँला

नेकपा एमालेले कोशी प्रदेशको कामचलाउ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई पदवहाली गराउन प्रदेश प्रमुखसँग माग गरेको छ ।

सोमबार एमाले संसदीय दलका उपनेता राम रानामगरको नेतृत्वमा प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेको एमाले नेताहरुको टोलीले सर्वोच्चको आदेश अनुसार सरकारविहीनताको अवस्था सिर्जना भएको भन्दै निवर्तमान मुख्यमन्त्री कार्कीलाई नयाँ सरकार नबनेसम्म कामचलाउ मुख्यमन्त्री दिन आग्रह गरेका हुन् ।

एमालेको आग्रहलाई प्रदेश प्रमुख खापुङले भने यसै गर्छु भन्न नसक्ने जवाफ दिएका छन् । उनले सर्वोच्च अदालतले अघिल्लो बुधबार दिएको फैसलाको पूर्णपाठ आएपछि मात्रै सरकाबारे सोच्न सकिने बताएका छन् । एमाले सांसदहरुले संविधानले नै परिकल्पना नगरेको सरकारविहीनताको अवस्था कसरी आयो ? भनेर सोधेपछि खापुङ ठोस जवाफ दिन चाहेनन् ।

तर उनले कामचलाउ सरकारलाई लिएर भइरहेको विवादमा भने सर्वोच्च अदालतको फैसालको पूर्णपाठ नआएसम्म आफूले केही निर्णय नलिने जवाफ दिए।

एमाले नेताहरुले सर्वोच्चको फैसला नआए पनि प्रदेश प्रमुखले राष्ट्रपति कार्यालयसँग समन्वय गरेर कामचलाउ मुख्यमन्त्रीका बारेमा बोल्नुपर्ने सुझाव दिएका छन् ।

 

सम्बन्धित समाचार