माधव नेपालको दाबी- प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो तर म धोका दिने मान्छे हैन

नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उनले बताए ।

संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा नेता नेपालले प्रधानमन्त्रीको प्रस्ताव आए पनि आफूले गठबन्धनलाई धोका नदिने प्रस्ट पारेका हुन् । ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो । तर म धोका दिने मान्छे हैन । हस्ताक्षर फिर्ता हुँदैन,’ उनले भने ।

उनले केपी ओलीको तानाशाहीविरुद्ध लड्न आफूहरु विद्रोही बनेको बताएका छन् । नेपालले भने, ‘संविधानको धारा ७६ (५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं । यो एमालेभित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतान्त्रिक प्रक्रियाबाट पनि तानाशाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।’

राष्ट्रियता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता बचाउन पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै उनले ओलीसँग सहकार्यको सम्भावना नरहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार