सर्लाहीको ईश्वरपुरमा वडाध्यक्षको हत्या, दुई जना पक्राउ

सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३ कै ३५ वर्षीय प्रेमराज दाहाल र बरहथवा नगरपालिका–१ का ३८ वर्षीय जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।

वडाध्यक्ष श्रेष्ठको शुक्रबार राती जेसिबी चालकसँग विवाद भएपछि जेसिबीले ठक्कर दिई हत्या गरिएको प्रहरीले जनाएको छ । भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो । शुक्रबार राती १० बजे वडाध्यक्ष श्रेष्ठ, ठेकेदार दाहाल र चालक तामाङले नजिकैको होटलमा सँगै खाजा खाएर फर्कने क्रममा जेसिबीका चालक तामाङसँग वडाअध्यक्ष श्रेष्ठको विवाद भएको थियो ।

विवाद गर्दा गर्दै पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबीको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले बताए ।

घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलङ्गवा पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका तामाङलाई शनिबार बिहान पौने ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार