आफ्नै गाउँमा डेरा खोज्न सास्ती

‘‘यो बर्खामा बालुवामुनि पुरिएको घर कसरी खोज्न सकिएला र ? सम्भव नदेखेर डेरा खोज्न थालेका हौँ,’’ मेलम्ची नगरपालिका–११ का स्थानीय ठाकुरप्रसाद रिजालले भने । असार १ गतेको बाढीले आफ्नो तीनतले घर पुरेपछि विद्यालयमा बसेका रिजाल अहिले मेलम्चीमै सुरक्षित ठाउँमा कोठा खोज्न थालेका छन् ।

मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीसँगै सीतलादेवी माध्यमिक विद्यालय, भुमेस्थान आधारभूत विद्यालय र लोकतन्त्र आधारभूत विद्यालयमा बसेका बाढीपीडित सधैँ विद्यालयमा बसेर निर्वाह नचल्ने भएपछि डेरा खोज्न थालेका हुन् । आफ्नै गाउँमा बाढीपीडित भएर डेरा खोज्नु पर्ला भन्ने उनीहरूले सपनामा पनि सोचेका थिएनन् । केही दिनअघिसम्म मासिक हजारौँ रुपैयाँ डेराभाडा उठाउने घरबेटीको अहिले डेरा खोज्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

त्यहाँको सबैभन्दा ठूलो विद्यालय शीतलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक क्षेत्रप्रताप अधिकारीको संयोजकत्वमा गठित समितिले बाढीबाट क्षति पुगेको घर र जग्गा अभिलेखीकरणको कार्य सुरु गरेको मेलम्ची नगरपालिका–१०, का अध्यक्ष भक्तबहादुर खड्काले जानकारी दिए । ‘‘अहिलेसम्म हाम्रो वडाका १९ वटा घर ‘कोल्याप्स’ भएका छन्, ती घरमा बस्ने ५० भन्दा बढी परिवारको स्कुलमा बास छ,’’ अध्यक्ष खड्काले थपे, “एक महिना अघिसम्म हजारौँ रुपैयाँ घरभाडा उठाउने घरबेटी अहिले डेराको खोजीमा भौँतारिरहनुभएको छ ।”

सुरक्षित ठाउँमा डेरा भेट्टाउनै मुस्किल परेको गणेशप्रसाद रिजालले बताए । उनी व्यावसायिक रूपमा पशुपालन गरेर बसेकाले त्यसका लागि उपयुक्त ठाउँ र टहरो बनाउन सकिने ठाउँ खोजिरहेका छन् । उनको गोठबाट चारवटा भैँसी र पाठापाठीको उद्धार गरिए पनि भाँडाकुँडा सबै बाढीले बगाएको छ ।

मेलम्ची नगरपालिकाभित्रकै बहुमूल्य घरजग्गा बगाएपछि वडाका ३५ परिवार घरविहीन भएको वडा नं ६ का अध्यक्ष जितराज थापाले बताए । दुई साताअघिसम्म अरूलाई डेरामा राख्ने मान्छेहरू अहिले आफैँ डेरा खोज्न थालेको थापाले बताए । मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीको सबैभन्दा धेरै चपेटामा परेको मेलम्ची नगरपालिका–११ का स्थानीयवासी डेराको खोजी गर्दै छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार