कार्यभार सम्हाल्दै गृहमन्त्री पौडेलले भने- सरुवा बढुवाका लागि मकहाँ नआउनू

गृहमन्त्री विष्णुप्रसाद पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरी पनि आफू कहाँ नआउनका लागि निर्देशन गरेका छन् । शुक्रबार गृहमन्त्रीको रूपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफू मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उनले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताए ।

उनले भने, ‘मकहाँ एउटा पनि पुलिस नआओस् । अन्याय भयो भनेर साँच्चि नै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु । नभए प्रमोसनका निम्ति, थमौतीका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस मकहाँ नआओस् । प्रहरी संगठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरू स्वतन्त्र हुनुहुन्छ । मेरो जिम्मेवारी सहजीकरणको हो । हामीले गर्नुपर्ने निर्णय, निर्देशनका लागि हामी जवाफदेहीरजिम्मेवार छौँ, त्यस ढंगले गर्नेछौँ । त्यसबाहेकका यावत् कामहरू यहाँहरूले गर्नुपर्दछ ।’

मन्त्री पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारीअनुरूपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताए । आफूले मन्त्रीको रूपमा गृह प्रशासन र प्रहरीलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेही भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताए । उनले आफूसहित गृहसचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए । संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार