डोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा आमाको मृत्यु, दुई वर्षीय छोरा बेपत्ता

डोल्पाको जगदुल्ला गाउँपालिका वडा नं १ मा पर्ने हुरीकोटमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हुरिकोटबाट बालुवा बोकेर सोही गाउँपालिकामा पर्ने माझगाउँतर्फ जाने क्रममा लु ४ त ३२२८ नं ट्रयाक्टर काठेपुल तर्ने क्रममा खोलामा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय काइगाउँले जनाएको छ । दुर्घटनामा परेर एक बालक बेपत्ता भएका छन् भने दुई जना घाइते छन् ।

दुर्घटनाबाट सोही गाउँपालिका वडा नं ५ बस्ने ३५ वर्षीया सेतु विकको उपचारका क्रममा काईगउँ स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

मृतक विकको २ वर्षीय छोरा किरण विक खोलामा खसेर बेपत्ता भएको डिएसपी पाण्डेले बताए ।दुर्घटनामा परेर सोही ठाउँका १९ वर्षीय अबितिर विक र ४५ वर्षीय कुसे विक सामान्य घाइते भएको र उनीहरुको स्वास्थ्य चौकी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा रुकुम पश्चिम चौहरजहारी नगरपालिका बस्ने २६ वर्षीय चालक ठगेन्द्र खत्री फरार रहेको प्रहरीको भनाइ छ ।

चालकको खोजी भइरहेको र घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

Loading...