बलेवा विमानस्थल कालोपत्रे गर्दा सम्झौताविपरीत लम्बाई र चौडाइ घटाएर आर्थिक चलखेल

सरकारको योजना स्तरोन्नति, ठेकदारको काम पहिले भएकै धावनमार्ग खुम्चाउने

बागलुङको बलेवा विमानस्थल विस्तार तथा कालोपत्रे गर्ने क्रममा सम्झौताविपरीत काम अघि बढेको छ । बागलुङ नगरपालिकामा अवस्थित बलेवा विमानस्थलको धावनमार्ग निर्माणको जिम्मा लिएको कम्पनी र नागरिक उड्डयन प्राधिकरणका कर्मचारीबिचको मिलेमतोमा सम्झौताविपरित काम अघि बढेको हो ।

विमानस्थलको स्तरोन्नति तथा कालोपत्रेको योजना अनुसार भएको सम्झौताविपरीत अहिले बलेवा विमानस्थललाई विस्तार गरेर स्तरोन्नति गर्नुपर्नेमा भएको विमानस्थलको धावनमार्ग खुम्चाउने उल्टो काम भइरहेको छ । जसका कारण राज्यलाई करोडौँको नोक्सानी मात्रै होइन  विमानस्थलको भविष्यमाथि नै चुनौती थपिनेछ ।

हाल निर्माणकै क्रममा रहेको धावनमार्गको लम्बाई र चौडाइ ऐन नियम विपरीत टेन्डर प्रक्रियाका बेला सम्झौतामा उल्लेख भएको भन्दा झन्डै २ सय स्क्वायर फुट कम राखेर कालोपत्रे गर्ने तयारी निमार्ण कम्पनीको छ ।

सरकारले देशभर रहेका साना विमानस्थलको स्तरोन्नति गर्ने कार्यक्रम अन्तर्गत बलेवा विमानस्थलको स्तरोन्नतिका लागि अघिल्लो वर्ष ११ करोडको लागत अनुमानसहित टेन्डर आव्हान गरेको थियो । टेन्डरका लागि आवेदन दिने विभिन्न ७ वटा कम्पनीमध्ये काष्ठमण्डप उमा एन्ड कम्पनी जेभीले धावनमार्ग विस्तार तथा कालोपत्रे गर्न सबैभन्दा कम रकम ८ करोड २४ लाख बोलकबोलमार्फत निर्माणको जिम्मेवारी पाएको थियो । सोही अनुसार भएको टेन्डर सम्झौतामा दुवैतर्फको माटो काट्ने तथा सम्याउने र टर्मिनल भवनको अगाडीको भाग फराकिलो पारी धावनमार्ग कालोपत्रे हुने उल्लेख छ । कालोपत्रे गरिने धावनमार्गको लम्बाई ६ सय २० मिटर र चौडाइ २० मिटर हुने गरि उक्त सम्झौता भएको थियो । तर निमार्णको क्रममा सम्झौता विपरीत लम्बाइतर्फ २० मिटर र चौडाइतर्फ २ मिटर घटाएर कालोपत्रे गर्ने तयारीले प्राधिकरण प्रशासन र निमार्ण कम्पनीबिच आर्थिक चलखेल भएको स्पष्ट देखिन्छ ।

निर्माणको जिम्मा लिएको कम्पनी काष्ठमण्डप उमा एन्ड कम्पनी जेभीका प्रमुख दिनेश रिजालले समेत धावनमार्गको लम्बाई र चौडाइ घटाएको स्विकारेका छन् । कालोपत्रे गर्नुपूर्वको सबै तयारी सकिएको बलेवा विमानस्थलको धावनमार्ग लम्बाई ६ सय मिटर र चौडाइ १८ मिटर मात्रै गर्ने तयारी भएको रिजालले बताए । रिजालका अनुसार आफुहरुले धावनमार्गको काम बाहेकको काम समेत गर्नुपरेकाले प्राधिकरण र स्थानीय जनप्रतिनिधीकै सहमतिमा लम्बाई र चौडाइ घटाउने थालिएको हो ।

ठेक्का सम्झौतामा उल्लेखित कामको विवरण र रकम स्पष्ट उल्लेख भएपछि निर्माण कम्पनीले सम्झौतामा उल्लेख भएभन्दा घटाएर काम गरेपछि पुरै भुक्तानी लिन मिल्छ भन्ने प्रश्नमा रिजालले भने, ‘हामीले पूर्व सम्झौतामा उल्लेख नभएका अन्य काम पनि गरेका छौं ।’ उनका अनुसार सम्झौतामा उल्लेख भएको विमानस्थलको धावनमार्गको लम्बाई र चौडाइ घटाएर सो बराबरको रकमबाट अर्को ठाउँमा ढुङ्गाको वाल लगाउने गरि भेरियसनमार्फत पूरक सम्झौता भएको छ ।

बलेवा विमानस्थल विस्तार तथा कालोपत्रे आयोजनाका प्रमुख मीनराज ओझाले पनि बलेवा विमानस्थलको धावनमार्ग लम्बाई ६ सय मिटर चौडाइ र १८ मिटर मात्रै कालोपत्रे गर्न लागिएको बताए । ओझाका अनुसार अहिले कालोपत्रे हुँदै गरेको धावनमार्गको लम्बाई र चौडाइ साना विमानस्थलको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै हुने भएकाले  निगोसियसनमा गएर लम्बाई र चौडाइ कम गर्न लागिएको हो । आयोजना प्रमुखको भनाइबाटै बलेवा विमानस्थलमा निगोसियसनबाट टेन्डर प्रक्रियाका बेला बोलकबोल भएको रकम अनुसार उल्लेखित विवरणभन्दा घटाएर काम गर्न खोज्नु राज्यको सार्वजनिक खरिद ऐनको विरुद्धमा छ ।

सार्वजनिक खरिद ऐनलाई कुल्चेर प्राधिकरण र निर्माण कम्पनीबिचको मिलेमतोमा सम्झौता विपरीत काम भएको बारे जिज्ञासा राख्दा नेपाल नागरिक उडड्यान प्राधिकरणको सिभिल इन्जिनियरिङ विभागका प्रमुख प्रदीप अधिकारी आफूलाई थाहै नभएको भन्दै पन्छिन खोजे । तर उनै अधिकारीको योजनामा बलेवा विमानस्थल विस्तार तथा कालोपत्रे गर्न काममा खुल्ला प्रतिष्पर्धाबाट भएको सम्झौतालाई कुल्चेर भेरियसनमार्फत काम अघि बढेको तथ्य हामीले पेस गरेपछि भने केही हच्किए । पोखराबाट भौगोलिक रूपमा निक्कै नजिक रहेको बलेवा विमानस्थल सञ्चालन हुने सम्भावनै नरहेको भन्दै अधिकारीले यसको विषयान्तर गर्न खोजे । आफूहरूले बलेवा विमानस्थल तत्काल सञ्चालन हुन नसक्ने भएकाले कालोपत्रे गर्नु आवश्यक छैन भन्दा भन्दै राजनीतिक दबाबमा राज्यकोषको रकम खर्चिएको टिप्पणी गर्दै भेरियसनमार्फत अनावश्यक खर्च घटाएको सुनाए ।

हामीले सम्झौताविपरीत काम हुँदै गरेको विभिन्न तथ्य आधार पेस गरेपछि भने प्रमुख अधिकारीले यसलाई मिडियामा नल्याइदिन आग्रह गर्दै भने, ‘हामीले ६ सय मिटर लम्बाई र १८ मिटर मात्रै चौडाइ हुँदा पनि पुग्ने भएकाले यसमा हुने खर्चलाई विमानस्थलभित्रको रिटनिङ वालका लागि खर्च गर्ने गरि निगोशियसनमा गएका हौँ । यदि होइन ,यो गलत छ कसैले भन्छ भने हामी सच्चाउन पनि तयार छौं ।’ काम गरेपछि काम अनुसारको पैसा भुक्तानी हुने भएकाले यसमा आर्थिक अनियमितताको आशङ्का नगर्न पनि उनले आग्रह गरेका छन् ।

सम्झौताविपरीत काम भएकोबारे नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल पनि जानकार छन् । धावनमार्गको लम्बाई र चौडाइ घटाएको विषयमा पोखरेलले संक्षिप्त प्रतिक्रिया दिँदै भने,”मापदण्ड विपरीत काम हुँदैन मापदण्डभन्दा बढी खर्च गर्न पनि आवश्यक छैन । मलाई विस्तृत जानकारी नभएकाले यसबारेमा सम्बन्धित विभागबाट जानकारी लिनुहोला ।” महानिर्देशक पोखरेलको भनाइबाट स्पष्ट हुन्छ कि बलेवा विमानस्थल विस्तार तथा कालोपत्रे गर्ने क्रममा भएको विमानस्थललाई खुम्चाउने चलखेल हुँदैछ ।

उडान सम्बन्धि नियमन गर्ने अन्तर्राष्ट्रिय संस्था आईकाओको मापदण्ड अनुसार बलेवा विमानस्थल जस्ता स्टोल अन्तर्गत पर्ने विमानस्थलहरूको लम्बाई न्यूनतम ६ सय मिटर र चौडाइ १८ मिटर अनिवार्य हुन्छ । तर, यो भन्दा बढी हुनु विमान उडान र अवतरणका लागि राम्रो हो । नेपालको सन्दर्भमा भौगोलिक हिसाबले असाध्यै विकट मानिने राराको ताल्चा, सोलुखुम्बुको फाप्लु, लुक्ला, जुम्ला, जुफाल, रुम्झाटार, लामिडाँडा, भोजपुर जस्ता विमानस्थलको लम्बाई न्युतम मापदण्ड पुर्याउन पनि कठिन हुने भएकाले आईकाओको न्यूनतम अनिवार्य मापदण्ड पु-याएर कालोपत्रे गरिनु स्वभाविक हुन सक्छ । तर, यसअघि नै न्यूनतम मापदण्डभन्दा बढी रहेको बलेवा विमानस्थलको विस्तार हुँदा झन् खुम्चाएर कालोपत्रे गर्न थाल्नु अस्वभाविक भएको उड्डयन क्षेत्रका विज्ञहरू बताउँछन् ।

नेपालमा सञ्चालनमा रहेका साना विमानहरूका लागि समेत तापक्रम बढ्दा भएका न्यूनतम मापदण्ड पुरा गरेका विमानस्थलसमेत जोखिमपूर्ण हुने उड्डयन सम्बन्धी पछिल्ला अध्ययनले देखाएको छ । अझै बलेवा विमानस्थलमा यसअघि साना विमानको भाडा बढी हुँदा यात्रु पाउन कठिन भएर बन्द हुनु परेको घटनाले कालोपत्रे हुँदा यो भन्दा ठुलो क्षमताका डोर्नियर, एटिआर जस्ता विमानले उडान भर्ने र नियमित उडान हुने स्थानीयको अपेक्षा थियो । तर भएको विमानस्थललाई खुम्चाउने कार्य स्थानीयको अपेक्षा विपरितमात्रै होइन विमानस्थलको भविष्यमाथि समेत गरिएको नजरअन्दाज हो ।

विमानस्थल विस्तार तथा कालोपत्रे गर्दा अन्तर्राष्ट्रिय मापदण्डको हबला दिँदै भौगोलिक रूपमा असाध्यै विकट स्थानका विमानस्थलसँग तुलना गरेर सम्झौतामा उल्लेख भएभन्दा पनि कम लम्बाई र चौडाइ गराउने चलखेल विमानस्थलको भविष्यका लागि समेत चुनौती बन्ने उड्डयन क्षेत्रका जानकारहरू बताउँछन् । जुन सरकारले लिएको साना विमानस्थलस्तरउन्नती गर्ने  नीति विपरीत पनि छ । अझै खुल्ला प्रतिस्पर्धामार्फत टेन्डर प्रक्रियामा जाँदा उल्लेख भएको मापदण्ड विपरीत भेरियसनमार्फत आन्तरिक रूपमा लम्बाइमा २० मिटर र चौडाइमा २ मिटर घटाउने नियत नै कागज मिलाएर चलखेल गर्न सजिलो र नीतिगत भ्रष्ट्राचार हो ।

आईकाओको वर्गीकरण अनुसार स्टोल मानिने विमानस्थलको लम्बाई र चौडाइको न्युतम मापदण्ड चलखेलपछि गर्न लागिएको लम्बाई र चौडाइ अनुसारकै भएकोमा शङ्का रहेन । तर, आफैमा फराकिलो बलेवा विमानस्थल स्तरउन्नती गर्ने  नाममा झन् खुम्चाउने तथा खुल्ला प्रतिस्पर्धा मार्फत हुने ठेक्का प्रक्रियामा लम्बाई चौडाइ बढी देखाएर सोही लागत अनुमानमा निर्माण कम्पनीसँग सम्झौता गरेपछि निर्माणको क्रममा यसलाई घटाएर काम गर्न दिनुले कागजी रूपमा अनियमिततालाई छिपाउने आधार बनाए पनि नीतिगत रूपमा यसमा चरम अनियमितता भएको आशङ्का गर्न मिल्ने प्रशस्त आधार भेटिएको स्वयं उडड्यन प्राधिकरणकै कर्मचारी बताउँछन् ।

कालोपत्रेको काम चलिरहेका बेला स्थानीय जनप्रतिनिधि र दलका नेताहरू निमार्णस्थल पुग्ने र फोटो खिचाउने मात्रै होइन, हाम्रै पहलमा विमानस्थल कालोपत्रे गराउने काम हुँदैछ भनेर सामाजिक सञ्जाल रङ्गाउने तथा उनीहरूका स्थानीय कार्यकर्ताले बधाई दिने तथा जसलिने होडबाजी जस्तै छ । तर, सम्झौता अनुसारको काम नभएको बारे स्थानीय जनप्रतिनिधि र नियामक निकाय भने अहिलेसम्म बेखबर देखिन्छ । बागलुङको क्षेत्र नं १ मा पर्ने बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्दा सम्झौता विपरीत काम भएको बारे आफूलाई कुनै जानकारी नभएको पूर्व सांसद डा. सूर्य पाठकले बताए । आफूलाई यसबारेका कुनै जानकारी नभएकाले यदि सम्झौता विपरीत काम भएको भए यस्तो कार्य गर्नेलाई कारबाही गर्नुपर्ने डा. पाठक बताउँछन् ।

सम्झौताविपरीत काम गर्दा स्थानीय वडाध्यक्षसँग राय लिएको र सोही अनुसार काम अघि बढाएको नेपाल नागरिक उडड्यान प्राधिकरणले भने पनि स्थानीय नगरप्रमुख यसबारे जानकार छैनन् । ‘आफूहरूलाई प्राविधिक विषयमा पर्याप्त जानकारी नहुने भएकाले मापदण्ड अनुसार काम भयो वा भएन र काम गर्दा गुणस्तरमा कत्तिको ध्यान दिएको छ भन्ने विषयमा हाम्रो चासो रहने भएपनि निमार्णकै क्रममा काम प्रभावित हुनेगरि हस्तक्षेप गर्न नमिल्ने हुँदा काम नियमित भइरहेको अवस्थामा स्तरोन्नति हुँदै गरेको विमानस्थलको लम्बाई र चौडाइ झन् खुम्चदैछ भन्ने कुरा कल्पना बाहिरको कुरा भएको भन्दै मेयर पौडेलले आश्चर्य प्रकट गरे । नगरपालिकाका प्रमुखलाई सामान्य जानकारी नै नभएको विषयमा स्थानीय वडाध्यक्ष र सदस्यहरुले प्राधिकरण र ठेकेदार कम्पनीका प्रतिनिधीको चलखेलमार्फत विमानस्थल खुम्चाउने कार्यमा जनप्रतिनिधीको हैसियतमा किन आफुलाई ज्ञान नै नभएको विषयमा सहमति जनाए यो सोचनीय विषय बनेको छ ।

गएको चैतमा सबै काम सक्नेगरि टेन्डर सम्झौता भएपनि कोभिड १९ को कारण देखाएर निर्माण कम्पनीले असार मसान्तसम्म सबै काम सक्नेगरि समय थप गरेको थियो । कामको प्रगति हेर्दा असार मसान्तसम्म पनि काम सकिने कुनै सङ्केत छैन । कालोपत्रे गर्न कच्चा पदार्थ ढुवानीका लागि यसअघि पर्वतका एक व्यापारीसँग गरिएको सम्झौता रद्द गर्न र आफ्नो पार्टीको मान्छेका प्लान्टमार्फत कच्चा पदार्थ किन्न राजनीतिक दबाब परेपछि अहिले ठेकेदार कम्पनीले पहिलेको सम्झौता रद्द गरेर पर्वतका एक व्यापारी (जो स्थानीय जनप्रतिनिधिसमेत हुन्) सँग कच्चा पदार्थ ढुवानीको नयाँ सम्झौता गरेको छ । निमार्ण कम्पनी काष्ठमण्डप उमा कम्पनी जेभीका प्रमुख रिजालले कालोपत्रेका लागि सबै तयारी पुरा भएकाले अबको केही हप्ताभित्रै बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रेको काम सकिने जानकारी दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार