असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने

चीनले पछिल्लोपटक उपलब्ध गराएको कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो डोज लगाइने भएको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाइएको थियो ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो मात्रा लगाएका ३ लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा (बुस्टर डोज) खोप लगाइने तय भएको बताए । साथै अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने उनले बताए ।

उनले भने, यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहकाले दोस्रो मात्रा खोप लाउन पाउनेछन् तर त्यसका लागि उनीहरूले पहिलो मात्रा खोप लगाएको कार्ड देखाउनु अनिवार्य हुनेछ ।

पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । ६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार