स्याङ्जामा चट्याङ लागेर एक किशोरको मृत्यु

स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका २ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने पूर्ण बहादुर गुरुङको छोरा १५ वर्षीय रोहित गुरुङ रहेका छन् ।

बिहान साढे पाँच बजे परेको चट्याङ लागेर आफ्नै घरभित्र सुतिरहेका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङबाट करेन्ट लाग्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । मोबाईल पुरै फुटेको अवस्थामा छ भने चार्जर समेत जलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार