अमेरिकामा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता

अमेरिकाको फ्लोरिडा राज्यको मयामी सहर नजिक पर्ने एक १२ तले भवन भत्किँदा ९९ जना मानिसहरू बेपत्ता भएका छन् ।

एक जनाको मृत्यु भएको पुष्टि भएको छ र धेरै जना भग्नावशेषभित्र पुरिएको अनुमान गरिएको छ । बेपत्ता हुनेमा कैयौँ ल्याटिन अमेरिकीहरू रहेको विवरण सम्बन्धित कन्सुलेटहरूले दिइरहेका छन्।

मयामीको उत्तरमा पर्ने सर्फसाइड क्षेत्रको सो भवन सन् १९८० मा बनेको थियो । त्यसमा २३० वटा फ्ल्याट थिए । तीमध्ये आधाजसो भत्किएको बीबीसीले जनाएको छ ।

फ्लोरिडा राज्यका गभर्नर रन डिसेन्टिसले क्षति धेरै भएको अनुमान गर्दै भनेका छन्, ‘जुन प्रकारले ध्वस्त भएको छ, त्यसलाई हेर्दा हामी नराम्रो समाचार सुन्नका लागि पूर्णरुपमा तयार रहनुपर्छ ।’

मायामी डेडकी मेयर डेनीयला लेभिन-काभाले हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन् । भग्नावशेषबाट ३५ जनालाई निकालिएको र १० जनालाई परीक्षण गरी दुई जनालाई अस्पताल पठाइएको थियो ।

खोजीकार्य जारी रहँदा सानो आगलागी भएपनि त्यसलाई २० मिनेट भित्रै नियन्त्रणमा लिइएको स्थानीय अग्नि नियन्त्रण प्रमुखले बताएका छन् । फ्लोरिडाका गर्भनरले घटनास्थलमा पुगेर उद्धारको काम अझै जारी रहेको र त्यति ठूलो संरचना ढलेको देख्नु पीडादायी रहेको बताए ।

राष्ट्रपति बाइडनले गभर्नर रोन डिसान्टिसबाट सङ्कटकाल घोषणा आफूले कुरिरहेको र फीमा भनिने सङ्घीय आपत्तकालीन व्यवस्थापन निकायका अधिकारीहरू घटनास्थलमा पुगेको जनाए ।

भत्किनुअघि त्यो १२ तले भवन
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार