बुद्धभूमिले दियो ३३ जना एकल महिलालाई बाख्रा

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले एकल महिलाका लागि बाख्रा वितरण गरेको छ । नगरभित्र रहेका १० वडाका एकल महिलालाई बुद्धभूमिले बाख्रा वितरण गरेको हो । नगरमा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तरगत एकल महिलालाई स्वरोजगार बनाउनका लागि नगरपालिकाले बाख्रा वितरण गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिए ।

नगर भित्र रहेका ३३ जना एकल महिलाहरूका लागि व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रति व्यक्ति २ वटाका दरले बाख्रा वितरण गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

बाख्रा पाएपछि बुद्धभूमि वडा नं ६ की कान्ती लोध खुसी छन् । नगरपालिकाले दिएका बाख्रालाई राम्रोसँग हुर्काई यसैबाट आम्दानी गरेर जीविकोपार्जन गर्ने उनले सुनाइन् ।

बाख्रा वितरण कार्यक्रममा उप–प्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, सिफारिस समितिका सदस्य देवी बेल्वासे, सुशीला दर्लामी, प्रशासकीय अधिकृत राजन पोख्रेल, इन्जिनियर निकिता त्रिपाठी, शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराई, योजना शाखा प्रमुख तथा कार्यक्रम फोकल पर्सन नवीन खनाल, विद्यालयका प्रधानाध्यापक लगायतको पनि उपस्थिति रहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार