उपभोक्ता समितिबाट योजनाको साढे ६ लाख लुटेर वडाध्यक्षसहित ३ जना फरार

वीरेन्द्रनगर नगरपालिका-३ का वडाध्यक्षसहित ३ जनाले उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर फरार भएको पाइएको छ ।

वडाध्यक्ष विनोदसिं विष्ट, सुशील गुरुङ, बलीराज शाहीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएका हुन् । बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट उनीहरूले रकम लिएका हुन् । काम सकेर हिसाबकिताब गरी बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दीपा खड्काले बताइन् ।

उपभोक्ता समितिका व्यक्तिहरूले उनीहरूलाई पक्राउ गरी कारबाही गर्न मागसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरीसमेत दिएका छन् ।

वडाध्यक्ष विष्ट यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए ।

सम्बन्धित समाचार