गुडिरहेको बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु

बाबुलाई बचाउन जाँदा छोराको पनि मृत्यु

सल्यानमा गुडिरहेको यात्रुबाहक बसमा करेन्ट प्रवाह हुँदा तीन जनाको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत दाङ सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्उु भएको हो ।

करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गङ्गादेव गाउँपालिका–४ का अन्दाजी ७० वर्षीय बलराम डाँगी र उनका ४० वर्षीय छोरा टोपलाल डाँगी रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए । यस्तै बसधनी सल्यान छत्रेश्वरी गाउँपालिका–६ का ३७ वर्षीय महेन्द्र वलीको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ले बताए ।

साँघुरो बाटोमा सुख्खा पहिरो खुसेको हुँदा त्यसको प्रभावले लत्रिएको सपोर्ट तारबाट बसमा करेन्ट लागेको सल्यान जिल्ला प्रहरी प्रमुख डिएसपी मल्लले बताए । २० जना सवार बसमा अन्य सबै यात्रुको अवस्था भने सामान्य छ ।

बाबुलाई बचाउन जाँदा छोराको पनि मृत्यु
घटना भएलगत्तै घटनास्थल पुगेका कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनका अनुसार बलरामलाई बचाउन खोज्दा उनको छोरा टोपलाललाई करेन्ट लागेको हो ।

गुडिरहेको बसमा करेन्ट लागेको जस्तो छ भनेर कराउने व्यक्ति बसको पछाडि बसेका एक जना युवक थिए ।

उनी त्यति बोलेपछि बस पनि रोकियो । किनभने बसको तल्लो मागमा लत्रिएको सपोर्ट ताल अल्झिएको थियो । यात्रुहरू कोही झ्यालबाट र कोही ढोकाबाट धमाधम हाम फाल्न थाले । बसधनी वली पनि सुरूमै झरिसकेका थिए ।

सबै बसका मानिस एकपछि अर्कौ गर्दै हतार हतार झरेपछि रोल्पाको गंगादेव गाउँपालिका –४ का ४२ वर्षीय टोपलाल डाँगी पनि बसबाट झरिसकेका थिए। उनका बुवा ७० वर्षीय कालुराम डाँगीले पनि जमिनमा झरिसकेका थिए। तर, फेरि उनी झोला लिन जान्छु भन्दै बसमा उक्लन खोजे । बुढ्यौली शरीर एउटा खुट्टा जमिनमा र अर्को हात बसको ढोकाको ह्याण्डलमा समाते। यहीनेर अन्जानमै उनले गल्ती गरेको प्रहरी ठान्छ।

जसै उनले एउटा खुट्टा जमिनमा टेकेर अर्को हातले ढोकाको ह्याण्डलमाथि उक्लनलाई समाते त्यसले अर्थिङको काम गर्‍यो। तत्कालै कालुरामलाई करेन्टले काबुमा पारिसकेको थियो । बुवालाई करेन्ट लागेको देखेर छोरा टोपलालले आफूलाई सम्हाल्न सकेनन् ।

उनी तुरून्तै बुवा भन्दै दौडिएर आफैं छुटाउन भनेर लागे । त्यसरी करेन्ट लागेका व्यक्तिलाई आफैंले छुनुहुन्न, सुकेको काठ वा करेन्ट प्रवाह नहुने वस्तुले मात्रै छुनुपर्छ भन्ने हेक्का उनले राखेनन् र बुवा कालुरामलाई करेन्टबाट छुटाएर ल्याउन भनेर गएका छोरा टोपलाललाई पनि करेन्टले आफ्नो काबुमा पार्‍यो । उनीहरूमध्ये केहीबेरमै बाबु बसको ढोका र छोरा जमिनमा फत्रकै लडे ।

त्यही बीचमा आसपासको चिसो जमिनमा अर्थिङ फैलिसकेको थियो । जब कालुराम लडे सबैको ध्यान त्यतै पर्‍यो । त्यही क्रममा चिसो जमिनमा उभिएका बसधनी महेन्द्र वलीलाई पनि करेन्टले लडाइसकेको थियो ।

 

सम्बन्धित समाचार