काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् । एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो । उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको बताइएको छ ।
गत ३१ जेठमा एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् । सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले खोजिरहेको हो ।
जेठ ३१ गते बुधबार राति ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो। त्यसको भोलिपल्टै नाबालिगले प्रहरीलाई जानकारी दिएपछि आरोपी पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेका थिए । उनी बागडोलमा एक प्राइभेट कम्पनी चलाएर बसेका थिए । नाबालिगलाई कोइरालाले एलओडी क्लबमा भेटेका थिए। नाबालिग एसइई परीक्षा दिएर बसेकी थिइन्।