कोशीमा उद्धव थापाले साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्ने

कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरुको पनि समर्थन लिएर थापा बिहीबार साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय जान लागेका हुन्  । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

कोशीमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत शुक्रबार ढलेको थियो। त्यसपछि कानुनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आह्वान गरेका हुन्।  यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (२) को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा (३) अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुनुपर्ने दाबी गर्दै आएको थियो।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमत पुर्याउन ४७  सिट आवश्यक पर्छ। तर, उक्त सिट कुनै गठबन्धनको पुग्ने अवस्था छैन। राप्रपाले एमालेसँगको गठबन्धन नछोडेको अवस्थामा विपक्षी गठबन्धनको बहुमत पुग्न सक्ने अवस्था छैन।

एमालेको ४० र राप्रपाको ६ गरी ४६ सांसद छन्। नेपाली कांग्रेसको २९, माओवादी केन्द्रको सभामुखबाहेक १२ सिट, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धनसँग पनि ४६ सिट  नै छ।

सम्बन्धित समाचार