नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै आजको राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेको छ । बैठक सुरु भएलगत्तै समय लिएर बोल्दै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त नगरेसम्म बैठक अघि बढ्न नसक्ने बताए । श्रेष्ठले प्रचण्डले प्रधानमन्त्री बन्न भारतको निर्देशन चाहिन्छ, भारतको सल्लाह सुझाव चाहिन्छ भन्ने आशयको अभिव्यक्ति दिएकाले उनी सो पदमा बस्न अयोग्य भएको दाबी समेत गरे ।
गत सोमबार भएको सार्वजनिक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरेको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक पटक बस्न आग्रह गरे । उनले प्रधानमन्त्री प्रचण्डसँग जवाफ मागौँला भन्दै बस्न गरेको आग्रहलाई समेत एमालेका सांसदहरुले अस्वीकार गर्दै उठिरहेपछि अध्यक्ष तिमिल्सिनाले बैठक स्थगित भएको जानकारी दिए ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो ।