नाइट क्लबमा नाबालिगलाई प्रवेश, बलात्कार घटनामा एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।   ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध १६ वर्षीया नाबालिगको बलात्कार भएको घटनामा  पक्राउ पुर्जी जारी गरेको हो ।  क्लबमा बलिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहेको छ ।  गत ३१ जेठमा एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् । सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले खोजिरहेको हो ।

जेठ ३१ गते बुधबार राति ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो। त्यसको भोलिपल्टै नाबालिगले प्रहरीलाई जानकारी दिएपछि आरोपी पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेका थिए । उनी बागडोलमा एक प्राइभेट कम्पनी चलाएर बसेका थिए । नाबालिगलाई कोइरालाले एलओडी क्लबमा भेटेका थिए। नाबालिग एसइई परीक्षा दिएर बसेकी थिइन्।

सम्बन्धित समाचार