दक्षिण अफ्रिकी महिलाले १० सन्तान जन्माएको खबर असत्य

दक्षिण अफ्रिकाकी एक जना महिलाले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको छ।

खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा गोसियामे थमारा सिथोले बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको हो। स्वास्थ्य परीक्षणले सिथो हालै गर्भवती समेत नरहेको देखाएको थियो।

ती ३७ वर्षिया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ र उनलाई सहयोग उपलब्ध गराइने भनिएको छ।

विज्ञप्तिमा झुट्टा समाचार दिनुको कारणबारे भने खुलाइएको छैन । प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) यसबारे सुरुमा समाचार प्रकाशित गरेको थियो।

आफ्नो समाचार सही रहेको उसले यसअघि बताएको थियो। उक्त अनलाइनले सिथोलेले जुन ७ मा स्टिभ बिको एकेडेमिक हस्पिटलमा उनले बच्चा जन्माएको उल्लेख गरेको थियो। प्रिटोरियाका स्वास्थ्यकर्मीहरूको तयारी कमजोर रहेको भन्दै उसले अस्पताल र स्वास्थ्य अधिकारीहरूले आफ्नो लापरबाही ढाक्न खोजेको उल्लेख गरेको थियो।

पछिल्लो विज्ञप्तिमा भनिएको छ, ‘यी आरोपहरू झुट्टा, अप्रमाणित र स्टिभ बिको एकेडेमिक हस्पिटलको राम्रो छवि धमिल्याउने उद्देश्यले आएका हुन्।’

प्रिटोरिया न्यूजका सम्पादक पिट रामपेडी र आइओएल अनलाईनविरूद्ध कानुनी कारबाही गरिने पनि विज्ञप्तिमा भनिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार