उपचार खर्च बेहोर्ने इच्छा राखेका राष्ट्रपति पौडेलले मागे ५५ लाख, अर्थ मन्त्रालयलाई परराष्ट्रको पत्र

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका लागि खर्च गरेको विल भर्पाइ भुक्तानीका लागि परराष्ट्र मन्त्रालयले अर्थमन्त्रालयमा पत्राचार गरेको छ । राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षणका लागि २०८० वैशाख ६ गते श्री एयरलाईन्सको चार्टर एयर एम्बुलेन्सको उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गरि वैशाख १७ मा नेपाल वायुसेवा निगमको नियमित उडानबाट नेपाल फर्किका थिए । त्यसक्रममा खर्च भएको ५५ लाख ४ हजार ६ सय ५४ को विल भर्पाइ भुक्तानीका लागि परराष्ट्रले अर्थमन्त्रालयलाई पत्र पठाएको हो ।

विल भरपाई भुक्तानी गर्न बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयको च.नं.८३७ मिति  २०८०/०३/११ वाट स्वास्थ्य उपचार लगायतको खर्चका लागि प्रचलित कानून तथा स्वीकृत मापदण्ड बमोजम खर्च गर्ने गरी ५५ लाख ४ हजार ६ सय ५४ रुपैयाँ अर्मन्त्रालयबाट सहमति प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोमबार परराष्ट्रले लेखेको उक्त पत्र मंगलबार अर्थ मन्त्रालयमा पुगेको छ।  उपचार खर्च निकासाका लागि भन्दै परराष्ट्रले अर्थलाई लेखेको पत्रमा राष्ट्रपतिको उपचार खर्चको बिल भरपाई भुक्तानीका लागि पेश भएको जनाएको छ।

‘त्यसअनुसार उक्त रकम भुक्तानी गर्न बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयको उपचार लगायतको खर्चका लागि प्रचलित कानुन तथा स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी ५५ लाख ४ हजार ६ सय ५४ को सहमति प्राप्त भएको छ’, परराष्ट्रको पत्रमा भनिएको छ, ‘तसर्थ, उक्त कार्यक्रमका लागि भएको यथार्थ खर्चको बिल भरपाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख २ हजार २७९ मात्रै तपसिलको खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासाका लागि अर्थ मन्त्रालयमा लेखी पठाइएको छ। असार १८ गतेको सचिवस्तरको निर्णयको प्रतिलिपि र अन्य आवश्यक कागजात यसै साथ संलग्न राखी पठाइएको ब्यहोरा सादर अनुरोध गरिन्छ।’

त्यसबेला राष्ट्रपति पौडेलको उपचारका लागि सहयोगीका रुपमा ११ जना दिल्ली गएको विवरण पनि परराष्ट्र मन्त्रालयले अर्थमा पठाएको छ।  राष्ट्रपतिसँग उनकी पत्नी र छोरा, २  जना नाति, शिष्टाचार महापाल, सुरक्षाकर्मीसहित ११ जना दिल्ली गएको पनि पत्रमा जनाइएको छ।

यसअघि राष्ट्रपतिको सचिवालयले पौडेलको उपचारमा लागेको खर्च उनले आफैं व्यहोर्ने बताएको थियो । गत वैशाख १९ गते राष्ट्रपति पौडेलले भारतमा उपचार गर्दा लागेको खर्चलाई लिएर शीतल निवासले एउटा प्रेस वक्तव्य निकालेको थियो ।  प्रेस संयोजक खिला कार्कीले निकालेको उक्त विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति आफैंले बेहोर्ने इच्छा व्यक्त गरेको उल्लेख थियो। वैशाख १९ गते राष्ट्रपतिको स्वकीय सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको थियो, “सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझावअनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा विदितै छ । उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्ले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।”

सम्बन्धित समाचार