भारतलाई हराउँदै न्युजिल्यान्ड बन्यो विश्व टेस्ट च्याम्पियन

न्युजिल्यान्डले भारतलाई हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप उपाधि जितेको छ । बुधबार फाइनलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै यस प्रतियोगिताको पहिलो संस्करण जित्दै इतिहास रचेको हो ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा सम्पन्न फाइनलमा भारतले दिएको १३९ रनको लक्ष्य न्युजिल्यान्डले मात्र २ विकेट गुमाएर पुरा गर्यो । २०१५ र २०१९ को पछिल्लो दुई एकदिवसीय विश्वकपको फाइनलमा पराजित भएको न्युजिल्यान्ड यस पटक भने आईसीसी प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

पहिलो र चौथो दिन वर्षाको कारण एक बल पनि हुन नसक्दा बराबरीतर्फ अघि बढेको खेलमा न्युजिल्यान्डले अन्तिम तथा छैटौं दिन (रिजर्भ डे) ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको हो । उपाधिसँगै च्याम्पियन न्युजिल्यान्डले १६ लाख डलर र उपविजेता भारतले ८ लाख डलर प्राप्त गर्नेछन् ।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डका ओपनर टम लाथम र डेभोन कनवेले ३० रनको साझेदारी गरेका थिए । रभीचन्द्रन आश्विनले ९ रन बनाएका लाथमलाई स्टम्पिंग तथा १९ रन बनाएका कनवेलाई एलबिडब्लु गर्दै भारतलाई खेलमा फर्काएका थिए ।

तेश्रो विकेटको लागि कप्तान केन विलीयमसन र रस टेलरले अविजित ९६ रनको साझेदारी गर्दै टिमलाई जितसम्म डोर्याए । विलियमसन ८९ बलमा ८ चौका मद्दतले ५२ रन तथा टेलर १०० बलमा ६ चौका मद्दतले ४७ रनमा अविजित रहे ।

भारतको बलिंगमा रभीचन्द्रन आश्विनले २ विकेट हात पारे जुन क्रममा १० ओभरमा ५ मेडन ओभर गर्दै १७ रन खर्चिए ।

त्यसअघि भारतको लागि रिशभ पन्तले सर्वाधिक ४१ रन, रोषित शर्माले ३० रन, रभीन्द्र जडेजाले १६ रन तथा अजिंके रहाने र चेतेश्वर पुजाराले समान १५ रन तथा बिराट कोहली र मोहम्मद शामीले समान १३ रन योगदान दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार