फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।  निगमले पेट्रोल तथा डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो ।

अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २०ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय निगमले गरेको छ ।

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार निगमलाई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीका आधारमा मूल्य बढेको हो । निषेधाज्ञाको समयमा भएको बिक्री परिणामको हिसाब गर्दा मूल्य बढेको अवस्थामासमेत निगमलाई १५ दिनमा ७७ करोड घाटा हुने प्रवक्ता उपाध्यायको भनाइ छ ।

पछिल्लो तीन वर्षको तुलनामा अहिले कच्चा तेलको मूल्य उच्च रहेको र अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुनेक्रम नरोकिँदा तेलको मूल्य वृद्धि भइरहने उनले बताए ।  निगमले डलरसँग नेपाली मुद्राको अववमूल्यनका कारण भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार