आन्तरिक उडान असार १७ गतेदेखि, अन्तर्राष्ट्रिय भने भोलिबाटै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान पुनः सुरु गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि वायुसेवा कम्पनीलाई सिमीत तथा सुरक्षित गन्तव्यमा ५० प्रतिशत क्षमतामा उडान गर्ने निर्णय गरिएको नागरिक उड्डयन सचिव यादव प्रसाद कोइरालाले जानकारी दिए ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि रोकिएको आन्तरिक उडान ६० औं दिनपछि पुनः सर्तसहित सञ्चालन हुने भएको हो । गत वर्ष कोराना संक्रमण रोकथाम गर्ने उद्देश्यले ०७६ चैत ११ गतेदेखि रोकिएको नियमित आन्तरिक उडान १ सय ७९ दिनपछि असोज ५ गते सर्त र कोटासहित सुचारु भएको थियो । आन्तरिक उडानमा ९ वटा वायुसेवा कम्पनी छन् ।

नागरिक उड्डयन प्राधिकरणले उडान समय तालिका र उडान संख्या निश्चित गरिदिए लग्त्तै आन्तरिक उडान गर्दै आएका बुद्ध, श्री, यती, सौर्य, सीता, समिट, तारा, गुण लगायत वायुसेवा कम्पनीले टिकट बिक्री सुरु गर्ने जनाएका छन् ।

अन्तर्राष्ट्रिय उडान बिहीबार (भोलि) देखि नै शुरु हुने भएको छ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । जारी सूचना अनुसार भोलि नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्ने छ ।

त्यस्तै २५ जुनमा नेपाल एयरलाइन्सले जापान उडान भर्ने छ भने एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ । २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउने छ भने टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका तय भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार