दक्षिणकालीमा मंगलबार मृत भेटिएकी महिला युट्युबमा भाइरल सन्तोषी भएको पुष्टि

मंगलबार दक्षिणकाली नगरपालिका-७ स्थित दक्षिणकाली मन्दिरपरिसरभित्र भेटिएको महिलाको शवको सनाखत भएको छ । शव विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान अनुहार क्षतविक्षत अवस्थामा एक महिलाको शव देखेपछि च्याउ टिप्न गएका दुई महिलाले प्रहरीलाई खबर गरेका थिए । शवभेटिएपछि महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्तसहित त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञसहितको टोली अनुसन्धानमा खटिएको थियो ।

प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा ल्याएको थियो । घटनास्थल पुगेका अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार सुब्बा काठमाडौं कालोपुल नजिक छाप्रो हालेर बसिरहेका धनबहादुर तामाङकी धर्मछोरी रहेको खुलेको छ । यसबारे प्रहरीले अनुसन्धानका लागि उनका बुबा धनबहादुरसँग सोधपुछ गरिरहेको छ ।

काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनी गर्भवती भएको हुनसक्ने आशंका गरेको छ । यद्यपि, पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार