संसद विघटन विरुद्धका रिटमाथि आजबाट नियमित सुनुवाई

रिट निवेदकलाई बहसका लाग १५ घण्टाको समय

संसद विघटन विरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट नियमित सुनुवाई हुँदैछ ।

प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ जना सांसदले दिएको रिटमाथि आज सुनुवाई हुन लागेको हो । विघटन मुद्दाको सुनुवाइका लागी प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा संवैधानिक इजलास गठन गरेका छन् । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

पहिलोे दिनको सुनुवाइमा देउवा पक्षबाट तीन जना वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादव तथा दुई जना अधिवक्ता खाम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीले बहस गर्नेछन् ।

निरन्तर सुनुवाई शुरु भएपछि कुल ३२ घण्टामा बहस सिध्याउन यसअघि नै संवैधानिक इजलासले आदेश गरेको थियो ।

रिट निवेदकतर्फका कानुन व्यवसायीलाई १५ घण्टा, प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सरकारी वकिललाई बहसका लागी १५ घण्टा समय छुट्याइएको छ । एमिकस क्युरीका लागी दुई घण्टा समय छुट्याइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

संवैधानिक इजलासले संसद विघटन गर्नुको लिखित कारण पेश गर्न प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई आदेश दिएपछि सुनुवाई एक साताको लागि रोकिएको थियो ।

अहिले सबै पक्षबाट लिखित जवाफ आईसकेको र नेपाल बार तथा सर्वोच्च बारबाट दुई दुई जना एमिकस क्युरी पनि खटाईसेकेको अवस्थामा सुनुवाई सुरु हुन लागेको हो ।

Loading...