निजी स्वार्थका निम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् : डा. भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको भावना विपरीत मन्त्री बनाउन र त्यसलाई अदालतले उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बनेको बताएका छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार संविधान अनुकूल नभएको भन्दै बदर गरेपछि भट्टराईले  यस्तो बताएका हुन् । उनले संविधानको भावना विपरित गएर स्वेच्छाचारी ढङ्गले मन्त्री बनाउने–बन्ने कार्य लज्जास्पद भएको बताएका छन् ।

यस्तै भट्टराईले क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुल्नुपर्ने धारणा व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्– ‘संविधानका निर्मातामध्ये नै संविधानको शब्द भावना विपरीत गएर स्वेच्छाचारी ढङ्गले मन्त्री बनाउनेरबन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो । क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् ।’

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । ओलीले जेठ २१ गते जसपालाई समेटेर १० मन्त्री र २ राज्यमन्त्री थप गरेका थिए । त्यस्तै जेठ २७ गते ७ मन्त्री र १ राज्यमन्त्री थपेर प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । जसमा जसपाको राजेन्द्र महतो पक्ष सरकारमा सहभागी भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार