गोरखाको चिलिङकोटमा जन्ती सवार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

गोरखाको सहिद लखन गाउँपालिका ३ को चिलिङकोट स्थित पात्लेखोलामा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको जिप दुर्घटनामा परेको बताइएको छ ।

उक्त दुर्घटनामा १२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । ‘बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको छ,’ प्रजिअ भुसालले भने, ‘ गाडीमा १९–२० जना सवार रहेको भन्ने खुलेको छ ।’ उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् ।

प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको हो । मृतकको पहिचान हुन बाँकी छ । गोरखा प्रहरी प्रवक्ता डीएसपी लीलाराम लामिछानेका अनुसार घटनास्थलमा ४ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरुमध्ये एउटा गाडी गएराति १ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका अन्य यात्रुलाई उपचारका लागि आबुखैरेनी अस्पतालमा पठाइएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार