सभामुख घिमिरे र उत्तर कोरियाली राजदूतबीच भेट

सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् ।  सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदान प्रदान एवं भ्रमणहरूको स्मरण गरे । सभामुख घिमिरेले नेपालले कोरियाली प्रायद्वीपमा भएका घटनाक्रमलाई चासोका साथ नजिकबाट नियालिरहेको बताउँदै आफ्नो मुलुक कोरियाली शान्ति, एकता र स्थायित्वको पक्षमा रहेको उल्लेख गरे । उनले सांसदहरुमार्फत दुई देशका जनताबीचको सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिए । 

भेटमा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आफ्नो देशको सर्वोच्च जनसभा (संसद) ले नागरिकका जनअधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानूनहरू निर्माण गर्दै गएको जानकारी गराए । 

उनले बालबालिका सम्बन्धी कानून पारित भएसँगै निःशुल्क शिक्षाको अधिकार ग्यारेन्टी भएको जानकारी दिए । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार