अदालतको आदेश मान्दिनँ, भारतीय फिल्म चल्न दिन्नँ : बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कानुन र अदालत नमान्ने बताएका छन् । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै मेयर बालेनको यस्तो भनाई आएको हो । फिल्म आदिपुरुषका लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत प्रस्ट हुने शाहको भनाइ छ ।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ’, उनले भनेका छन् ।

यसको लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै बालेनले भनेका छन्, ‘फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

बुधबार नेपाल चलचित्र संघले हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध रिट दायर गरेका थिए । उनीहरुले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश पनि माग गरेका थिए।

मेयर शाहले भारतीय चलचित्र ‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद रहेको भन्दै उक्त संवाद नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र सञ्चालन हुन नदिने घोषणा गरेका थिए।

मेयर शाहको उक्त घोषणापछि सोमबारदेखि काठमाडौँ महानगरसहित देशका विभिन्न स्थानमा भारतीय चलचित्रको प्रदर्शन रोकिएको थियो । बालेनको उक्त निर्णय कानुन विपरीत भन्दै फिल्म हल सञ्चालकहरु अदालत गएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार