साफ च्याम्पियनसिप : नेपाल कुवेतसँग पराजित

काठमाडौं । साफ च्याम्पियनसिप २०२३ को पहिलो खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले हार व्यहोरेको छ । भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको हो ।

कुवेतकाे जितमा खलिद हाजिया, सबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक–एक गोल गरे । नेपालका लागि अञ्जन विष्टले एक गोल फर्काएका थिए । २३ औं मिनेटमा कुवेतले कप्तान खालेद हजियाको गोलमा अग्रता लियो । फवाज अलोताइबीको कर्नरमा नेपालको डिफेन्स र गोलरक्षकबीच फ्रन्ट पोस्टमा समन्वय हुन नसक्दा हजियाले खाली पोस्टमा बललाई गोलको दिशा दिए ।

३६ औं मिनेटमा कुवेत अग्रता दोब्बर पार्नबाट चुक्यो । फवाज अलोताइबीले दायाँ विंगबाट दिएको क्रसमा मोहमद अब्दुल्लाहको हेडर क्रसबारमा लागेर फर्किएको थियो ।

४१ औं मिनेटमा कुवेतले अग्रता दोब्बर पार्यो । काउन्टर अट्याकमा अघि बढेको मुभलाई शाइबाइबा अल्खाल्दीले गोलमा परिणत गरेका थिए । बायाँ विंगबाट मोहमद अब्दुल्लाहले दिएको पास पेनाल्टी क्षेत्रभित्र रोक्दै विमल पाण्डेलाई बिट गरेपछि अल्खाल्दीले गोलरक्षक किरण चेम्जोङलाई बिट गरेका थिए ।

६५ औं मिनेटमा कुवेतले अर्को गोल थप्यो । हमाद अल कलाफको क्रस अनन्तको हातमा लाग्दा रेफ्रीले पेनाल्टीको निर्णय दिएका थिए । मोहमद अब्दुल्लाहले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए ।

तर त्यसको दुई मिनेट नबित्दै नेपालले खेलमा गोल फर्कायो । अनन्तको लामो पास कुवेतको डिफेन्सले क्लियर गर्न नसक्दा अन्जनले बललाई अघि बढाउँदै फिनिस गरे । अन्जनको राष्ट्रिय टोलीबाट यो व्यक्तिगत १२ औं गोल पनि हो ।

७५ औं मिनेटमा कुवेतका मोहमद अब्दुल्लाह ह्याट्रिक गर्नबाट बन्चित रहे । गोलरक्षक किरणले उनको शक्तिशाली प्रहारलाई विफल पार्दै नेपालको झिनो सम्भावना कायम राखे । त्यसपछि नेपालले पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो खेलमा नै हार बेहोर्न पुग्यो ।

नेपालले अब असार ९ गते घरेलु टिम भारतसँग प्रतिस्पर्धा गर्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार