सुदूरपश्चिममा भोलि शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा मन्त्री सिंह सहित उनको पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि ज्यान गएको छ । अमृता र जयादेवीको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो भने गम्भीर घाइते भएका मन्त्री सिंहको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

अहिले थप दुई जनाको उपचार भइरहेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भोली शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको जनाकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार