हेवा खोलामा बेलिब्रिज निर्माण थालियो

वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलिब्रिज निर्माण थालिएको छ । भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलिब्रिज निर्माणको काम अघि बढाइएको हो ।

सोमबारदेखि धमाधम बेलिब्रिजको काम थालिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए । बेलिब्रिज निर्माण सामग्री निर्माण स्थलमा पुगिसकेको उनले जानकारी दिए । ‘केही दिनभित्रै यातायात पुनः सुरू हुन्छ,’ उनले भने ।

आइतबारको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो । त्यहाँको यातायात आवागमन ठप्प हुँदा बेपत्ता नागरिकको खोजीमा समस्या भएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, शहरी विकास मन्त्री सीता गुरुङलगायतले बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले चाँडो पुल बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार