पाँच घण्टा छलफल गर्दा पनि भएन कोशी सरकार र आन्दोलनरत पक्षबीच

कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आएका आन्दोलनरत पक्षबीच भएको वार्तामा सहमति बन्न सकेन । आज बिहानबाट प्रदेश राजधानी विराटनगरस्थित होटल विगमा करिब ५ घण्टा वार्ता भएको हो ।

वार्ता सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै दुबै पक्षले छलफल सौहार्द्धपूर्ण भएको र फेरि वार्तामार्फत नै अघि बढ्ने बताएका छन् । उनीहरुले दुबै पक्षको सल्लाहमा वार्ताको अर्को मिति तोक्ने सहमति भएको पनि बताए ।

प्रदेश सरकारका तर्फबाट वार्ता समितिको संयोजक रहेका खानेपानी, सिंचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले वार्ता सौहार्दपूर्ण भए पनि सहमति बन्न नसक्दा पुनः वार्तामा बस्नेगरी आजको वार्ता सकिएको बताए । आपसि छलफल गरेर पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको मन्त्री मेन्याङ्बोले बताए ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राख्ने निर्णय गरेपछि पहिचान पक्षधरले आन्दोलन गर्दैआएका छन् । आन्दोलनका क्रममा एक जनाको ज्यान गएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार