बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणबाट बागलुङमा थप दुई व्यक्तिको ज्यान गएको छ । बडिगाड गाउँपालिका–२ का ६८ वर्षीय र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धौलागिरि अस्पतालमा मृत्यु भएको हो ।

६८ वर्षीयको आज बिहान र ८२ वर्षीयको सोमबार साँझ मुत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत जेठ १९ गते अस्पताल भर्ना हुनुभएका बडिगाड–२ का पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो । यस्तै उपचारकै क्रममा ज्यान गुमाउनुभएका बागलुङ–२ का पुरुषमा भने आजै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोनाको लक्षण देखिएपछि उहाँको सोमबार साँझ मात्रै स्वाबको नमुना सङ्कलन गरिएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५२ पुगेको जनाइएको छ । जसमध्ये गत वैशाखयता शुरु भएको कोरोना महामारीको दोस्रो लहरमा मात्र ४१ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार