ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले कोरोनाविरुद्ध पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको मंगलबारको एकल इजलासले जेष्ठ नागरिकले दायर गरेको रिटमा सरकारका नाममा यस्तो आदेश जारी गरेको हो ।

ज्येष्ठ नागरिक अर्जुनराज गिरीले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका थिए । उनीहरुले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका तर दोस्रो डोज नपाएपछि सर्वोच्च पुगेका थिए ।

विश्व स्वास्थ्य संगठनले कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्तासम्म लगाउन सकिने सिफारिस गरेको छ । तर नेपालका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको १२ हप्ता नाघिसकेको छ ।

ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिइएको थियो । भारतीय कम्पनीले खोप नदिएपछि सरकारले बेलायतबाट अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याएर ज्येष्ठ नागरिकलाई दिने बताउँदै आएको छ । तर कहिले आउने टुंगो भने छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार