बाढीपहिरोका कारण ताप्लेजुङ यातायात र सञ्चार सुविधाबाट बन्चित, ५० करोडको क्षति

१० दिनभित्र बेलिब्रिज बनाइने

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शनिबार परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण ताप्लेजुङ यातायात सेवा र सञ्चार सुविधाबाट बन्चित रहेको जानकारी दिएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बाढीपहिरोका कारण सडक र पुलमा भएका क्षतिका कारण ताप्लेजुङ यातायात सेवा र सञ्चार सुविधानबाट बन्चित हुन पुगेको जानकारी दिए ।

बाढीपहिरोले हेवा खोलाको पुल र तमोर करिडोरको बेलिब्रिज भत्काएसँगै ताप्लेजुङ यातायात सेवाबाट बन्चित भएको जानकारी दिएका उनले मेची राजमार्गको हेवा खोलाको करिब ४६ मिटर पुल बगाउँदा सो राजमार्ग अवरुद्ध हुन पुगेको बताए ।

यीसहित विभिन्न स्थानको बाटो र पुल भत्किँदा ५० करोड बराबरको क्षति भएको र १० दिनभित्र सक्ने गरी बेलिब्रिज निर्माणको काम थालिएको उनले बताए । साथै सडक र पुल निर्माण र अवरुद्ध सडक खुलाउने निर्देशन दिइएको उनले बताए । बेलिब्रिज निर्माण नहुँदासम्म सतहबाटै डाइभर्सन बनाएर यातायात सञ्चालन गरिने उनले बताए ।

ताप्लेजुङ र पाँचथर जिल्ला जोड्ने हेवाखोलाको ४६ मिटर लामो पुल बगाउँदा मेची राजमार्ग पूण रुपमा अवरुद्ध भएको छ । त्यस्तै तमोर करिडोरमा पर्ने पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका– ७ जोड्ने मझमिटारस्थित ४५ मिटर लामो हेवाखोला बेलिब्रिज पनि बगेको छ ।

यो दुईवटा पुल बगाएपछि ताप्लेजुङ जिल्ला यातायातको सम्पर्कबाट पूर्ण रुपमा बिच्छेद भएको मन्त्री ज्वालाले जानकारी दिए । ताप्लेजुङमा विद्युत पनि अवरुद्ध भएको छ ।

वर्षा र बाढीका कारण अरुण करिडोरमा ५०० मिटर सडक बगेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको पांग्रेभीरमा पनि सडक अवरुद्ध भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–३ मच्छेबुङको मोटरपुल पनि बगेको छ ।

पाँचथरकै फिदिम–यासोक सडक बीचमा पर्ने कुम्मायक गाउँपालिका–४ बन्थाकमा सडक अवरुद्ध भएको छ । ताप्लेजुङ–सुर्माखिम– खेवाङ–याम्फुदिन जोड्ने मोटर पुल पनि क्षतिग्रस्त भएको छ ।

मेची राजमार्गको कान्छीदोकान बजारमा पनि सडक अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको चिवाभञ्ज्याङ गणेशचोक सडक खण्डमा पर्ने फलौचा बजारमा २० मिटरको मेवाखोला पुल पनि भत्केको छ । त्यस्तै मदन भण्डारी राजमार्गको पनि ठाउँठाउँमा अवरुद्ध भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार