पाराग्वेलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

उपाधि दावेदार अर्जेन्टिना कोपा अमेरिका कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान सकिएको समूह ‘ए’ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम आठको यात्रा तय गरेको हो ।

अर्जेन्टिनाको जितमा अलेजान्द्रो गोमेजले गरेको गोल निर्णायक बन्यो । उनले खेलको दशौं मिनेटमा गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । एन्जल डि मारियाले दिएको पासमा गोमेजले गोल गर्न सफल भएका हुन् ।

त्यसअघि आठौं मिनेटमा गुस्ताभो गोमेज र रोबर्ट पिरिसको समन्वय नमिल्दा सर्जियो अगुएरोले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । १८औं मिनेटमा कप्तान लियोनेल मेस्सीले अवसर पाएपनि सदुपयोग गर्न सकेन । एक गोलले पछि परेको पाराग्वेले बल पोसेसन राख्दै आक्रमण बुन्ने प्रयास गरेपनि अर्जेन्टिनाको बलियो रक्षापङ्ति तोड्न सकेन ।

यो जितपछि अर्जेन्टिना समूह ‘ए’ मा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित पाराग्वे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चिली ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा उरुग्वे २ खेलबाट १ अंक जोडेर चौथो स्थानमा छ । अंकविहीन बोलिभिया पुछारमा छ ।

यही समूहको अर्को खेलमा उरुग्वे र चिलीले १–१ गोलको बराबरी खेलेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार