काभ्रेमा खुकुलो पार्दै थप एक हप्ता थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञाको समयलाई पुनः बढाएको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै यही असार १४ गते राति १२ बजेसम्मका लागि समय थप गरेको हो । कोरोना सङ्क्रमण उल्लेख्य रूपमा घटिनसकेको अवस्थालाई ध्यानमा राख्दै सम्भावित सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि निषेध आदेशको समयलाई बढाइएको हो ।

निषेधाज्ञाको समयमा यसअघिको भन्दा अझै खुकुलो पारिएको छ । यस समयमा जिल्लास्थित विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयले स्वास्थ्य मापदण्डको पालना गरी आलोपालो प्रणालीमा सेवा प्रवाह गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि आलोपालो माध्यममा सेवा प्रवाह गर्दै आएका राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंकहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सेवा सञ्चालन गर्ने र बीमा समिति, बीमा कम्पनी, रेमिट र गैरसरकारी संस्थाहरुले भिडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गरेर न्यूनतम जनशक्ति परिचालन गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

विकास निर्माणजन्य सामग्रीका पसल९हार्डवेयर, बिजुली, स्यानिटरी, सिमेन्ट र छड० बिहान ११ बजेदेखि बेलुका साढे ६ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, उपहार वस्तु, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने छ । सुन पसल, भाँडा पसल, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्ट्स पसल र इलेक्ट्रोनिक पसलहरु आइतबार, मङ्गलबार र बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै निजी सवारी साधन (कार, जीप, भ्यान) बढीमा चार जना र ट्याक्सीमा बढीमा तीन जना तथा मोटरसाइकल, स्कुटर जोर बिजोर प्रणालीमा सञ्चालन हुनेछन् । सो समयावधिमा सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल बीउबिजन, पुश चिकित्सकलगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधन निर्वाधरूपमा सञ्चालन गर्न पाउने भएका छन् ।

सार्वजनिक निर्माणका सामग्री ढुङ्गा, बालुवा गिटीलगायतका सामग्री जिल्लाबाहिर ढुवानी गर्ने सवारी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी जिल्लाभित्रको हकमा बेलुका ५ बजेदेखि बिहान ७ बजेसम्म तथा जिल्लाबाहिर लैजानेको हकमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

जिल्लामा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या ३७ थपिएसँगै जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या ७८७ पुगेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार