एकल लगानीमा रुपन्देहीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउँदै विनोद

सरकारले ठूलो धन राशि लगानी गरेका अधिकांश खेलकुद मैदान समयमा निर्माण हुन सकिरहेको छैन । तर, रुपन्देहीका विनोद कुँवरले एक्लो लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने अठोट गरेका छन् ।

विनोदको एकल लगानीमा रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बन्न लागेको हो । तिलोत्तमा नगरपालिकाको वडा नम्बर १७ दरखसवामा ५ बिघा क्षेत्रफलमा बन्ने ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ को सोमबार शिलान्यास गरिएको छ । यसलाई खेलका जानकारहरुले निजी लगानीमा बन्ने नेपालको पहिलो ठूलो क्रिकेट रंगशाला भनेका छन् ।

मैदान निर्माण गर्न ४० करोड रुपैयाँ बजेट अनुमान गरिएको विनोदले बताए । मैदान निर्माणका लागि दुई वर्ष अघिदेखि जग्गा खरिद प्रक्रिया सुरु गरिएको थियो । पौने ५ बिघा जग्गा किनेर मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया जारी रहेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक समेत रहेका विनोदले जानकारी दिए ।

संचालक कुँवरका अनुसार पहिलो वर्ष ५ हजार दर्शक क्षमताको हुने र हरेक वर्ष ५ हजार क्षमता थप्दै ४ बर्षमा २५ हजार क्षमताको बनाउने लक्ष्य छ । आफू क्रिकेटको पारखी भएकाले यो खेलको विकासमा निजी क्षेत्रबाट योगदान गर्ने उद्देश्यले रंगशालामा लगानी गरेको बताए । रंगशाला चार वर्षमा पूरा हुने उनले बताए ।

यस मैदानमा दुई साताअघि देखि आठ सय ट्रक माटो हालेर जग्गलाई सम्याउने कार्य सम्पन्न भएको छ । मैदान निर्माणसँगै पहिलो वर्ष पाँच हजार दर्शक क्षमताको प्यारापिट बनाइने छ । प्रत्येक वर्ष पाँच पाँच हजार क्षमताको दरले निर्माण गरिँदै आगामी चार वर्षभित्रमा २५ हजार दर्शक क्षमताको बनाइने एक्स्ट्राटेक ओभल प्रालिको योजना छ ।

विनोदले भरतपुरमा मैदान बनाउन नसकेको कुरालाई ध्यानमा राखेर आफूले मैदान निर्माणका लागि आवश्यक रकम सुनिश्चित गरिसकेको बताउनुभयो । क्रिकेट मैदानमा होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर रहनेछ । रङ्गशाला कम्पाउन्डमा चार तलाको भवन बनाएर एक सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिने योजना विनोदको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार