यस वर्ष मनसुनबाट १२ लाख ५० हजार मानिस प्रभावित हुन सक्ने

यही जेठको अन्तिममा सुरु भएर करिब एक सय दिन क्रियाशील यस वर्षको मनसुनबाट करिब साढे १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

गृह मन्त्रालयमा आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा दिइएको जानकारी अनुसार मनसुनबाट प्रभावित हुन सक्ने जनसङ्ख्या १२ लाख ५४ हजार १८१ र घरधुरी दुई लाख ८६ हजार ९९८ रहने छन् ।

मनसुनबाट हुन सक्ने सम्भावित क्षति रोकथाम र न्यूनीकरणका लागि बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८० स्वीकृत गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको समितिको १८ औँ बैठकले कार्ययोजना स्वीकृत गरेको हो ।

उक्त कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आकलन गरी विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, सरकारी तथा गैरसरकारी संस्थाहरूको जिम्मेवारी तोकिनुका साथै खोज, उद्धार तथा राहत सामग्रीहरूको मौज्दातीको विवरण समेटिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले उपलब्ध साधन स्रोतको अधिकतम उपयोग एवं परिचालन गरी विपत् जोखिम न्यूनीकरण गर्नतिर ध्यान दिन र विगत वर्षहरूका कमजोरी तथा असावधानी पुनरावृत्ति हुन नदिई कार्ययोजनाको ठोस कार्यान्वयन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिए ।

प्राधिकरणको विश्लेषण अनुसार कोशी प्रदेशमा तीन लाख एक हजार १४३, मधेशमा चार लाख तीन हजार १८०, बागमतीमा ९६ हजार ८५८, गण्डकीमा ६९ हजार ७४४, लुम्बिनीमा एक लाख ९९ हजार ८६२, कर्णालीमा ३५ हजार ३३३ र सुदूरपश्चिममा एक लाख ४७ हजार १८१ जना प्रभावित हुने आकलन छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट प्रवेश गरी एक सय दिन क्रियाशील हुने बताए ।

मनसुनका समयमा बाढी, पहिरो र भारी वर्षाका कारण प्राकृतिक प्रकोपका घटना हुने गरेका छन् । साथै मनसुनको अवधिमा झाडापखाला, हैजा जस्ता पानीजन्य रोग, सर्पदंश, डेङ्गु, मलेरियाजस्ता कीटजन्य प्रकोप बढ्ने गरेका छन् ।

नेपालमा मनसुनजन्य विपत्ले सबैभन्दा धेरै नागरिकलाई प्रभावित पार्ने र सबैभन्दा धेरै आर्थिक क्षति निम्त्याउने गरेको छ ।

विगतका तथ्याङ्क अनुसार मनसुनबाट पहिरोको उच्च जोखिममा रहेका जिल्लामा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, ललितपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुमपश्चिम, दैलेख, अछाम र बैतडी छन् ।

त्यसै गरी बारम्बार बाढीबाट प्रभावित हुने जिल्लामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर छन् ।

मनसुनजन्य प्रकोपको पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार सवारी तथा ‘ए क्लास’ एम्बुलेन्सहरु खरिद गरी सातवटै प्रदेश र काठमाडौं उपत्यकामा एक(एकवटा रहने व्यवस्था मिलाइएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार